लन्डन, १८ साउन : विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वेल्स फुटबल एसोसिएसन (एफएडब्लु) ले समर्थन फिर्ता लिएको छ । विश्वकप प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद प्रस्ताव असफल भएपछि सार्वजनिक रूपमा समर्थन फिर्ता लिने वेल्स पहिलो सदस्य राष्ट्र बनेको हो ।
एफएडब्लुले सोमबार जारी गरेको विज्ञप्तिमा सन् २०२७–२०३१ कार्यकालका लागि फिफा अध्यक्ष पदमा इन्फान्टिनोको उम्मेदवारीलाई अब समर्थन नगर्ने स्पष्ट गरेको छ । संस्थाले सुशासन, निर्णय प्रक्रिया, नेतृत्व, मूल्यमान्यता, हितधारकसँगको सम्बन्ध, सञ्चार तथा पछिल्ला निर्णयमा देखिएका कमजोरीका कारण इन्फान्टिनोप्रतिको विश्वास गुमेको जनाएको छ ।
विज्ञप्तिमा विश्व फुटबलको हितलाई पहिलो प्राथमिकतामा राख्न असफल हुनु स्वीकार्य नभएको उल्लेख गर्दै यही कारण समर्थन फिर्ता लिइएको जनाइएको छ ।
इन्फान्टिनोले फिफाका २११ सदस्य सङ्घलाई पुरुष र महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजनालाई समर्थन गरे प्रत्येक सङ्घलाई चार करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गर्नुभएको थियो । तर तीनवटा महादेशीय फुटबल सङ्घको कडा विरोधपछि उहाँले उक्त योजना फिर्ता लिनुभएको थियो ।
यता, इङ्ग्ल्यान्ड फुटबल एसोसिएसनले पनि फिफालाई पत्र लेख्दै इन्फान्टिनोलाई अब समर्थन नगर्ने जानकारी दिएको छ । यसअघि उसले युरोपेली फुटबल महासङ्घ (युइएफए) को धारणालाई पूर्ण समर्थन गर्दै इन्फान्टिनोले युरोपेली फुटबल नेतृत्वको विश्वास गुमाएको जनाएको थियो ।
उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कन्काकाफ) ले पनि फिफा नेतृत्वबारे व्यापक समीक्षा आवश्यक रहेको बताएको छ भने एसियाली फुटबल महासङ्घ (एएफसी) ले सङ्गठनमा थप पारदर्शिता अपनाउन आग्रह गरेको छ ।
फिफा अध्यक्षको अर्को निर्वाचन सन् २०२७ को मार्चमा मोरक्कोको रबाटमा हुने तय गरिएको छ । (रासस/एएफपी)






