चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  ३ घण्टा अगाडि

बेइजिङ, १७ साउन : उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो ।

जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो । घटनापछि सुरुमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको जानकारी दिइएको थियो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय विपद् रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गर्ने घोषणा गरेपछि मृतकको अद्यावधिक विवरण सार्वजनिक गरिएको हो ।

दक्षिणी गान्सु प्रान्तको पहाडी क्षेत्रमा रहेको सुवाङशिमेन प्राकृतिक ढुङ्गाका तोरण, उच्च पहाडी घाँसे मैदान र पहाडी खोलानालाका लागि परिचित पर्यटकीय क्षेत्र हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पाल र सवारीसाधन राखिएको उपत्यकाबाट तीव्र गतिमा बाढी बगिरहेको देखिएको थियो ।

यस गर्मीयाममा चीन चरम मौसमी घटनाबाट प्रभावित बनेको छ । जुलाई महिनामा हुबेई प्रान्तमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको थियो । त्यस्तै, दक्षिणी ग्वाङसी क्षेत्रमा भारी वर्षापछि बाँध भत्किँदा छ जनाको मृत्यु भएको र एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसैगरी, गान्सु प्रान्तकै दाङचाङ काउन्टीमा गएको पहिरोमा परी जुलाईमा २१ जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया