काठमाडौं, साउन १६ : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको बताइएको छ ।
मुख्यमन्त्री चयनलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएका विवादका चर्चालाई पार्टी नेताहरूले अस्वीकार गरेका छन् । उनीहरूका अनुसार दलभित्र मुख्यमन्त्री चयनका विषयमा कुनै विवाद नरहेको र सरकार गठनमा देखिएको ढिलाइ वर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले औपचारिक रूपमा राजीनामा नदिएकै कारण भएको हो ।
यसअघि असार ३१ गते मुख्यमन्त्री शाहले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमालेले सोही दिन सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसयता प्रदेश सरकार अल्पमतमा सञ्चालन हुँदै आएको छ ।
नयाँ सत्ता समीकरण बनेसँगै मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर देखिएको छ । यद्यपि संवैधानिक व्यवस्थाअनुसार उनले निर्धारित समयभित्र विश्वासको मत लिन सक्नेछन् ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटलगायत विषयमा छलफल जारी रहेको र पुरानो सरकारले मार्ग प्रशस्त गरेलगत्तै नयाँ सरकार गठन हुने अपेक्षा गरिएको फारवेष्ट पोष्टमा उल्लेख छ ।






