सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण

  २ घण्टा अगाडि

विराटनगर, १३ साउन : सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ ।

पार्टीको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा युगौँदेखि यहाँका सबै जाति, धर्म र समुदायबीच कायम रहँदै आएको आपसी भ्रातृत्व, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको बलियो आधार भएको उल्लेख छ । कुनै पनि बहानामा सद्भाव खलबल्याउने, धार्मिक धुर्वीकरण बढाउने र नागरिकको जीउधनमाथि हमला गर्ने कार्यको एमालेले घोर भत्र्सना गर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

कोशी प्रदेश कमिटीले घटनामा परी ज्यान गुमाउने देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । झडपका क्रममा घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको समेत प्रदेश कमिटीले कामना गर्नुका साथै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ । हिंसा, र द्वन्द्वले कसैको पनि हित नगर्ने उल्लेख गर्दै संवाद र आपसी समझदारीबाटै सबै समस्याको समाधान खोज्न तथा सामाजिक एकता कायम राख्न प्रदेश कमिटीका अध्यक्ष खतिवडाले सम्पूर्ण पक्षलाई आह्वान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया