मस्को, १० असार : रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एक मात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ । विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो ।
रूस र संयुक्त राज्य अमेरिकाबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख आणविक शक्तिमाथिका प्रतिबन्ध हटेका छन् । दुवै देशले उच्चस्तरीय सैन्य वार्ता पुनः सञ्चालन गर्ने सहमति जनाए पनि उक्त सन्धिको नवीकरण वा प्रतिस्थापनका विषयमा हालसम्म कुनै ठोस प्रगति भएको छैन ।
मस्कोमा आयोजित एक विदेश नीति मञ्चलाई सम्बोधन गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विश्वव्यापी सुरक्षा प्रणाली क्रमशः कमजोर हुँदै गएको बताउनुभएको छ । “आणविक प्रतिरोधबाहेक विश्वसँग अब केही बाँकी छैन । यही एक मात्र तत्व हो, जसले विश्वलाई विश्वयुद्धबाट जोगाइरहेको छ,” उहाँले भन्नुभयो । प्रविधिको तीव्र विकाससँगै भविष्यमा नयाँ प्रकारका गैर-आणविक हतियार विकास हुन सक्ने र ती विनाशकारी क्षमताका हिसाबले आणविक हतियार सरह हुन सक्ने उहाँको भनाइ थियो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमणका क्रममा पटक-पटक आणविक हतियारसम्बन्धी अभिव्यक्ति दिँदै आउनुभएको छ । यसलाई युरोपेली राष्ट्र तथा संयुक्त राज्य अमेरिकाले गैरजिम्मेवार ‘आणविक धम्की’का रूपमा आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेटेर नयाँ आणविक नियन्त्रण सन्धि गर्नुपर्ने धारणा अघि सार्नुभएको छ । चीनको आणविक भण्डार विस्तार भइरहेको भए पनि त्यो अझै रूस र अमेरिकाको तुलनामा निकै सानो रहेको बताइन्छ ।
यद्यपि बेइजिङले उक्त प्रस्तावप्रति सार्वजनिक रूपमा असहमति जनाएको छ । मस्कोले भने चीनलाई नयाँ सम्झौतामा समावेश गरिए बेलायत र फ्रान्सलाई पनि त्यसमा सहभागी गराइनुपर्ने अडान राखेको छ । सन् २०१० मा हस्ताक्षर भएको ‘न्यू स्टार्ट’ शीत युद्धपछिका आणविक हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौतामध्ये अन्तिम सन्धि थियो ।
उक्त सन्धिले रूस र अमेरिकालाई अधिकतम एक हजार ५५० वटा तैनाथ आणविक वारहेड राख्न सीमित गरेको थियो । सन्धिको अवधि समाप्त हुनुअघि दुवै देशले एक अर्कामाथि सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै आएका थिए । (रासस/एएफपी)






