काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का अगुवाहरुले आफूहरू मतदाता रहेको एक नम्बर क्षेत्रमा स्थानीय उम्मेद्वार चाहिने प्रष्ट पारेका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्दै उनीहरुले सो कुरा जोडतोडले उठाएका हुन् ।
राजनीतिज्ञ, कलाकार, साहित्यकार र पत्रकार सहितको भेलाले सो क्षेत्रमा लामो समयदेखि बसोबास भएको स्थानीय उम्मेद्वार खोजेका हुन् । तीनसय हाराहारीको संख्यामा भेला भएका ती अगुवाले अन्यत्रबाट आएर भाइरल हुन खोज्ने मनस्थितिले ग्रसित उम्मेद्वारलाई सहयोग नगर्ने स्पष्ट पारेका छन् ।
त्यस्तै, पटक–पटक निर्वाचित भएका र पराजित भएकालाई पनि नस्वीकार्ने बताएका छन् । स्थानीय रैथाने उम्मेद्वार भएको खण्डमा काँध हालेरै हिड्ने ती अगुवाहरुले धारणा राखेका छन् ।

क्षेत्र नं. १ का जनताको मनोभावना बुझ्ने र जनताको भावनालाई राष्ट्रिय राजनीतिमा जोड्न सक्ने खुबी भएको उम्मेद्वारलाई जिताउन कुनै पनि कसर बाँकी नराख्ने उनीहरूको अठोट थियो ।
काठमाडौ क्षेत्र नम्बर १ मा हालसम्म राप्रपा र नेपाली कांग्रेसले मात्र उम्मेद्वार सिफारिस गरेको छ । राप्रपाबाट पशुपति शमशेर राणा र शोभित उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरिसकेको छ । राणाले उम्मेद्वार नहुने बताएपछि सो क्षेत्रमा उप्रेतीको खाँचो भएको अगुवाहरुको संयुक्त भेलाले ठहर गरेको छ ।
काठमाडौं क्षेत्र नम्बर १ एकता समाजले आयोजना गरेको उक्त कार्यक्रममा सो क्षेत्रका प्राज्ञिक व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
समाजका अध्यक्ष चमन कोइरालाले क्षेत्र नम्बर १ का अगुवाको आग्रहमा सो बेला डाकिएको बताए । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, क्षेत्रका अगुवा विनोद दवाडी, राप्रपाका क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ, अगुवा महिला रीना वली शाही, अगुवा तथा राप्रपा नेता नवीन शाही लगायतको उल्लेख्य उपस्थिति थियो । उपस्थित सबैले उप्रेतीको उम्मेद्वार सिफारिशलाई कायम गराउन जोडदार माग समेत गरेका छन् ।






