क्वाङ्चौमा नेपाली प्रकृति र संस्कृति झल्काउने एक महिना लामो प्रदर्शनी जारी  

  २ घण्टा अगाडि

साझाखबर संवाददाता, बेइजिङ । नेपाली कला संस्कृति, रीतिरिवाज, प्राकृतिक सौन्दर्य उजागर गर्न चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा एक महिना लामो प्रदर्शनी चलिरहेको छ । अगस्ट ९ देखि ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासले क्वाङ्चौ पुस्तकालयसँगको सहकार्यमा पुस्तकालयको बहुसांस्कृतिक हलमा “हिमालय पार: प्रकृति र संस्कृतिको सिम्फोनी” नामक एक महिने प्रदर्शनीको आयोजना गरेको हो ।

प्रदर्शनीमा ७० भन्दा बढी नेपाली थाङ्का, हस्तकला, तस्बिर र अन्य प्रदर्शनीहरू राखिएका छन् ।

उत्कृष्ट थाङ्काहरूका साथै परम्परागत हस्तकला, सिङ्गिङ बाउल अर्थात् ध्वन्यपात्र, काठका कलाकृति र अन्य शिल्पहरू र हजारहाते अवलोकितेश्वरप्रति चिनियाँको अभिरुची देखिएको छ । मयूर झ्यालको काष्ठकला नेपालको सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण प्रतीक हो जसमा नेपाली सीप र रचनात्मकता प्रदर्शित छ।

नेपाली महावाणिज्यदूत भरत खनालले नेपालको प्राकृतिक वैभव र सांस्कृतिक विविधताको अनुपम मिश्रणको अनुभूति गर्न चिनियाँ शुभेच्छुकहरूलाई आमन्त्रण गरे । उनले नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ पार्ने मनसायका साथ सहकार्यमा साथ दिएकोमा पुस्तकालयलाई धन्यवाद ज्ञापन गरे ।

पुस्तकालयकी महानिर्देशक वु छुइहोङले नेपाल र चीनबीच पारस्परिक समझदारी बढाउन सांस्कृतिक आदानप्रदानको महत्त्व रहेकोमा जोड दिँदै भनिन्, सांस्कृतिक संवादलाई प्रवर्द्धन गर्ने पुस्तकालयको प्रतिबद्धता नै हो ।

प्रदर्शनीका सिलसिलामा पुस्तकालयले थाङ्का चित्रकला, ध्वन्यपात्र अनुभव जस्ता कार्यशाला गतिविधिहरूको श्रृंखला पनि आयोजना गर्नेछ ।

उद्घाटनको दिनमा सरकारी अधिकारीहरू, संस्कृतिप्रेमीहरू, क्वाङ्चौस्थित विभिन्न नियोगका कूटनीतिज्ञहरू, नेपाली प्रवासी र सञ्चारकर्मी गरी २ सय भन्दा बढीको सहभागिता थियो।

अवलोकनकर्ताहरूले हेडफोन मार्फत ध्वन्यपात्रको धुन सुन्न सक्छन् भने नेपालसँग सम्बन्धित जानकारी पनि पढ्न सक्छन् । यस्तै साहित्य, इतिहास, यात्रा र अन्य विषयहरू समेट्ने १०० भन्दा बढी चिनियाँ र अंग्रेजी पुस्तकहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

यो प्रदर्शनी सेप्टेम्बर ८ तारिखसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया