मधेशमा भयो वर्षा, किसान हर्षित

  ९ घण्टा अगाडि

जनार्जन खत्री
सर्लाही, साउन १२ गते । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् । 


यहाँ दुई दिनदेखि मौसम बद्ली भइरहेको थियो । सोमबार दिउँसोपख मेघगर्जनसहित सर्लाही र आसपासका जिल्लामा केहीबेर भारी वर्षा भएको हो । विशेषगरी आकाशे वर्षाको भर रहेको जिल्लाको चुरेवर्ती क्षेत्र र पूर्व भेगका किसानलाई सोमबार परेको पानीले ठूलो राहत मिलेको छ । 


विद्युतीय मोटरबाट जसोतसो धान रोपाइँ गरेकोमा सोमबार परेको पानीले पटपट फुटेर सुक्न थालेको रोपा जोगाउन मद्दत पुगेको हरिपूर्वा नगरपालिका –२, का किसान बिलास रायले जानकारी दिनुभयो । 


सर्लाहीमा हरिपूर्वासहित ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर, कविलासी क्षेत्रमा एक झर राम्रोसँग वर्षा भएको हो । यी क्षेत्रमा सबैभन्दा बढी आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । 


कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले सोमबार दिउँसो पानीले बाँकी रहेको क्षेत्रमा धान रोपाइँ गर्न र रोपेको धान फस्टाउन ठूलो मद्दत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बागमती सिँचाइ आयोजनाको नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ । 


पूर्व–पश्चिम राजमार्ग क्षेत्रदेखि उत्तरतर्फ आकाशे वर्षाको भर रहेको छ । चुरेभेगमा पानी परेपछि बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायत खोलाको शीरबाटै पानी बढेर आएकाले कुलोको पानी लगाएर खेती गर्ने किसानलाई राहत मिलेको छ । 
लालबन्दी नगरपालिका –१६, परवानीपुरका दिलबहादुर थापाले आकाशे वर्षा नहँुदा खोला नै सुक्न थालेको अवस्थामा सोमबार पानी परेपछि खोलामा पानी बढेको जानकारी दिनुभयो । पानी परेपछि सर्लाहीसहित मधेश प्रदेशमा तत्कालका लागि गर्मी समेत कम भएको छ । 

तपाईको प्रतिक्रिया