चितवन, १७ असारः डिभिजन वन कार्यालयले हरेक वर्ष असार १५ गतेदेखि विभिन्न प्रजातिका बिरुवा वृक्षरोपणका लागि वितरण गर्दै आएको छ ।
विरुवा वितरण गरे पनि कति बिरुवा सर्दछन् भन्ने वास्तविक तथ्याङ्क भने कार्यालयसँग छैन । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले वितरण गरिएका बिरुवा कति सर्दछन् ÷हुर्कन्छन् भन्ने अनुगमन नभएका कारण वास्तविक तथ्याङ्क भन्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले हरेक वर्ष बिरुवा बाँड्छौँ । त्यसको ५० प्रतिशत बाँच्छन् भन्ने अनुमान छ ।” यस वर्षदेखि बिरुवा लाने व्यक्ति र संस्थाको निरीक्षण अनुगमन गर्ने गरी काम गर्न थालिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय, स्थानीय तहले बिरुवा उत्पादन गरेर सर्वसाधारणलाई वितरण गर्दै आएका छन् । कार्यालयले हरेक वर्ष लाखौँका सङ्ख्यामा बिरुवा वितरण गरे पनि सदुपयोग भए नभएको थाहा नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिरुवाको सदुपयोग भयो कि भएन भन्ने विषयमा अनुगमन गर्छाैँ । बिरुवा लगेर नरोप्ने र रोपेर पनि बेवास्ता गर्नेलाई आगामी वर्षहरूमा बिरुवा दिँदैनाँ ।”
अहिले कार्यालयमा बिरुवा लिन आउनेको सङ्ख्या बढेको बताउँदै उहाँले व्यक्तिगत रूपमा ५० देखि २०० सम्म विभिन्न प्रजातिका बिरुवा प्रदान गरिँदै आएको छ । समूह र टोल विकास संस्थाहरू बिरुवा रोप्ने सुनिश्चितताका आधारमा तीन सयदेखि एक हजार बिरुवासम्म प्रदान गरिने गरेको उहाँले बताउनुभयो । कार्यालयले अम्बा, अमला, अर्जुना, इपिल, कपुर, कागती, कोइरालो, कल्की फूल, चाँपा, चिउरी, जामुनसहितका ३० प्रजातिभन्दा बढीका बिरुवा वितरण गर्दै आएको छ । वितरण गरिएको बिरुवाको अनुगमन नहुँदा बिरुवा बाँच्ने प्रतिशत छुट्याउन कठिन भएको उहाँले बताउनुभयो । कुन बिरुवा कति बाँच्यो भन्ने विषयमा अध्ययन गरेर थप बिरुवा उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ छ । कार्यालयको वार्षिक रु २० लाख हाराहारी बिरुवा उत्पादनमा खर्च गर्ने गरेको छ । ठूलो रकम खर्चेर बिरुवा उत्पादन गरे पनि बाँच्ने सम्भावना कम हुँदा अनुगमन र अध्ययनको आवश्यकता परेको उहाँले बताउनुभयो ।