रामपुर (पाल्पा), १२ असारः रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यले नगरपालिकाले अनुदानमा किसानलाई घार वितरण गरेको हो । वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको राससले जनाएको छ ।
किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जनालाई ९५ आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आउनु भएका रामपुर–४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताउनुभयो । नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो ।
नगर उपप्रमुख बालकुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न मौरीको घार वितरण गरिएको बताउनुभयो । मौरीपालन सजिलो र थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने हुँदा व्यवसायिक विकास र किसानको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभएको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी व्याज अनुदानको समेत व्यवस्था गरेको नगर उपप्रमुख थापाले जानकारी दिनुभयो ।