सभापति देउवाद्वारा ‘मैथिली भवन’ उद्घाटन

  जेठ २४, २०८२

जनकपुरधाम, २३ जेठ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

जनकपुरधाम–८ स्थित मैथिली विकास कोषले निर्माण गरेको नवनिर्मित मैथिली भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले गर्दै जनकपुरधामले नेपाल–भारतबीचको सम्बन्ध बढाउन पनि यसले भूमिका खेलेको उल्लेख गर्नुभयो ।

मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको रु सात करोड ५० लाखमा निर्माण भएको उक्त भवन पाँच कठ्ठामा फैलिएको छ । एउटा सभाहलसहित भवनमा ३० वटा कोठा छन् ।

त्यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर हाम्रो सभ्यता तथा संस्कृतिसँग परापूर्वकालदेखि जोडिएको उल्लेख गर्दै यसलाई धार्मिक पर्यटनसँग जोडनुपर्ने आवश्यक्ता औँल्याउनुभयो । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यस संस्थाको उद्देश्य, पहिचान तथा गरिमा बढाउनका लागि मन्त्रालयले लगानी गरेको बताउनुभयो ।

पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले नेपालका सबै जातजाति तथा समूदायलाई आफ्नो धर्म तथा संस्कृतिको पहिचान तथा संरक्षणको अधिकार दिएको स्मरण गर्नुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिलाको गरिमा तथा महत्व बढाउनका लागि सबैको सहयोग आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री रामसरोज यादव तथा नेपाली कांगे्रस मधेस प्रदेश संसदीय दलका नेता कृष्णायादवलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया