ड्र्यागन बोट फेस्टिभल चीनका धेरै क्षेत्रमा रमाइला गतिविधि गर्दै मनाइँदेछ । चीनको एक परम्परागत र महत्त्वपूर्ण पर्व ड्रागन बोटलाई चिनियाँमा त्वान वु च्ये भनिन्छ । प्रसिद्ध चिनियाँ देशभक्त कवि चु युआनको सम्झनामा मनाइन्छ । प्रत्येक वर्ष, यो पर्व चिनियाँ चन्द्र पात्रो अनुसार पाँचौं महिनाको पाँचौं दिनमा पर्छ ।

यस दिनको मुख्य आकर्षण भनेको चोङ्च भनिने परम्परागत परिकारको स्वाद लिनु र रोमाञ्चक ड्र्यागन डुङ्गा दौड हेर्नु हो । एक किसिमको लेस्याइलो चामलबाट बनेको परम्परागत खाना नै चोङ् च हो जुन बाँस वा केराको पातमा बेरेर पकाइन्छ । यो स्वादमा गुलियो र नुनिलो दुवै हुन सक्छ । यो समोसा जस्तै देखिन्छ, तर यसको स्वाद पूर्णतया फरक छ।

यस पर्वमा मानिसहरूले चोङ्चको मजा लिन्छन्, रियलगर वाइन भनिने विशेष मदिरा पिउँछन्, सुगन्धित जडीबुटीबाट बनेका साना थैलीहरू लगाउँछन् र घरको ढोकामा मगवर्ट र क्यालामस जस्ता जडीबुटीहरू झुण्ड्याउँछन् । थप भन्ने हो भने रोमाञ्चक उच्च-गतिको ड्र्यागन डुङ्गा दौडहरू छन् जुन अत्यन्तै मनोरञ्जनात्मक हुन्छ ।

यस दिन मनाइने अर्को अनौठो र रमाइलो परम्परा भनेको दिउँसो अण्डालाई सीधा अड्याउने प्रयास गर्नु हो। यदि कुनै व्यक्तिले अण्डालाई सफलतापूर्वक सीधा अड्यायो भने उसको भाग्य राम्रो हुनेछ भन्ने विश्वास गरिन्छ । प्राचीन समयमा मानिसहरूले विश्वास गर्थे कि यी सबै अभ्यासहरूले रोग र दुष्ट आत्माहरूबाट बचाउँछन् र स्वास्थ्यको लागि पनि लाभदायक छन् ।

आधुनिककालमा पनि यो पर्व ठूलो उत्साह र धूमधामका साथ मनाइन्छ । ड्र्यागन डुङ्गा दौड र चोङ्च खाने परम्परा अझै पनि कायम छ तर मानिसहरू चलचित्र हेर्न, कन्सर्टमा भाग लिन, किनमेल गर्न र पार्कहरूमा भ्रमण गर्न पनि जान्छन् । यस अवसरमा चीनका धेरै ठूला शहरहरूमा रहेका विशाल पार्कहरूमा सांस्कृतिक कार्यक्रम र सामाजिक जमघटहरू आयोजना गरिन्छ जहाँ मानिसहरूले धेरै रमाइलो गर्छन् र आफ्नो परिवारसँग समय बिताउँछन् ।
यस दिन मानिसहरूले एकअर्कालाई उपहारको रूपमा चोङ्च पनि दिन्छन् । सुपरमार्केटहरूमा चोङ्चका आकर्षक उपहार प्याकहरू उपलब्ध हुन्छन् । कार्यालयहरूमा सहकर्मीहरूसँग बसेर चोङ्च् खाने चलन पनि छ । स्कूलका बालबालिकाहरूलाई चोङ्च बनाउन सिकाइन्छ । यसबाट उनीहरू पनि यो महत्त्वपूर्ण परम्पराको बारेमा जानकारी पाउँछन् ।

पर्वको सुरुवात कथाः

त्वान वू महोत्सव चीनको परम्परागत पर्व हो जसको इतिहास दुई हजार वर्षभन्दा पुरानो छ । यसको उत्पत्तिको बारेमा धेरै फरक कथाहरू छन् । कतिपयको विश्वास छ कि त्वान वू पर्व प्राचीन चीनमा याङ्त्जे नदीको छेउमा बस्ने मानिसहरूले ड्र्यागनको पूजाबाट सुरु भएको थियो । यद्यपि, सबैभन्दा लोकप्रिय विश्वास अनुसार, यो पर्व २७८ ईसा पूर्वमा आफ्नो मातृभूमिको लागि नदीमा हाम फालेर प्राचीन देशभक्त कवि चु युआनले गरेको आत्महत्याको सम्झनामा मनाइन्छ ।
चु युआन युद्धरत राज्य काल (ईसापूर्व तेस्रो शताब्दी) मा चु राज्यका राजाका वफादार मन्त्री थिए । यस अवधिमा सात प्रमुख राज्यहरू थिए: छी, चु, यान, हान, चाओ, वेई र छिन, जसमध्ये छिन राज्य सबैभन्दा शक्तिशाली थियो । छिन राज्यले महत्वाकांक्षी रूपमा अन्य छ राज्यहरूमाथि आफ्नो प्रभुत्व स्थापित गर्न र सम्पूर्ण चीनमा प्रभुत्व हासिल गर्न खोज्यो । चु युआन एक जानकार र बुद्धिमान मानिस थिए। उनको राजनीतिक दृष्टिकोण चु राज्यमा राजनीतिक सुधार ल्याउनु र छिन राज्यको सामना गर्न अन्य राज्यहरूलाई एकताबद्ध गर्नु थियो।

यद्यपि चु राज्यका भ्रष्ट अधिकारीहरूले उनको विचारको कडा विरोध गरे । ती दुष्ट अधिकारीहरूबाट प्रभावित भएर चु राज्यका राजाले चु युआनको सुझावलाई अस्वीकार गरे र उनलाई राज्यबाट निष्कासन गरे । आफ्नो राजधानीबाट टाढा भएपनि चु युआन चु राज्यको भविष्यको बारेमा चिन्तित रहे । आफ्नो निर्वासनको समयमा उनले आफ्ना कविताहरू मार्फत आफ्नो शोक र आफ्नो सार्वभौम र जनताप्रतिको गहिरो प्रेम व्यक्त गरे ।

जब चू राज्यले छिन राज्यको हातबाट पराजय भोग्यो, चू युआनले गहिरो दुःख र निराशा महसुस गरे । उनले छातीमा गह्रौं ढुङ्गा बाँधेर मिलुओ नदीमा हाम फालेर आत्महत्या गरे । त्यो दिन २७८ ईसा पूर्वको पाँचौं महिनाको पाँचौं दिन थियो।
जब मानिसहरूले यो दुखद घटनाको बारेमा थाहा पाए, तिनीहरू डुङ्गा चढेर नदीतिर दौडे । चु युआनको शरीरलाई माछाबाट जोगाउन, तिनीहरूले चामलका खानेकुरा नदीमा फ्याँकिदिए । त्यसबेलादेखि चोङ्च बनाएर नदीमा फ्याँक्ने र त्यसपछि प्रत्येक वर्ष पाँचौं महिनाको पाँचौं दिनमा खाने परम्परा थियो । बिस्तारै, डुङ्गा दौडको परम्परा पनि उत्सवको अभिन्न अंग बन्यो ।
हाल ड्र्यागन डुङ्गा प्रतियोगिता तुआन वु महोत्सवको समयमा मात्र आयोजना गरिँदैन तर यो विश्वका धेरै भागहरूमा सांस्कृतिक कार्यक्रमको रूपमा पनि लोकप्रिय भएको छ । यसले एउटा महत्त्वपूर्ण खेलकुद कार्यक्रमको रूप पनि लिएको छ । यस प्रतियोगितामा प्रयोग हुने ड्र्यागन डुङ्गाहरू परम्परागत रूपमा सागौन काठबाट बनेका हुन्छन् र विभिन्न डिजाइन र आकारहरूमा उपलब्ध छन्।
यो डुङ्गा प्रतियोगिता चीनको दक्षिणी भागमा विशेष गरी ग्रामीण क्षेत्रहरूमा धेरै लोकप्रिय छ । सबै उमेर समूह र पृष्ठभूमिका मानिसहरू यसमा उत्साहपूर्वक भाग लिन्छन्, त्यसैले यो पर्वलाई ड्र्यागन-डुङ्गा महोत्सव पनि भनिन्छ ।
