काठमाडौँ, २४ वैशाख : गत शुक्रबारदेखि देशभर प्रदर्शनरत नेपाली चलचित्र ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको प्रतिक्रिया प्राप्त भइरहेको अभिनेता विशाल पोखरेलले जानकारी दिनुभयो ।
“चलचित्र हेरिसक्नुभएकाले यसलाई स–परिवार हेर्नुपर्ने धारणा राख्दै केही आफ्नो परिवारनै लिएर चलचित्र भवनमा आउनुभएको पाएका छौँ । यसको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरूपयोग र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक बिखण्डनसँग जोडिएको छ । त्यसकारण यो अभिभावक र बालबालिका दुवैका लागि उपयोगी बनेको छ”, उहाँले भन्नुभयो ।
चलचित्रमा अभिनेता पोखरेलसँगै आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभिश श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र ‘झिल्को’ हेरेपछि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याबसन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले चलचित्रमा अहिले समाजको चित्रण पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो अहिले हरेक परिवार वा घरको कथा हो । अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नुपर्ने आवश्यकता चलचित्रले स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।” समग्रमा चलचित्र ‘झिल्को’ ले शैक्षिक क्षेत्र, अभिभावकत्व र प्रविधिको प्रयोगबीचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको चलचित्र हेरिसकेकाले प्रतिक्रिया दिएका छन् ।
यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखले समेत हेर्नुपर्ने दर्शकले विश्लेषण गरेका छन् । ‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस चलचित्रलाई मिडिया फर कल्चर प्रालिले निर्माण गरेको हो । उक्त चलचित्रमा दीपक बज्राचार्यले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखनको काम गर्नुभएको छ ।