‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो’

  साउन १५, २०८१

काठमाडौँ, १५ साउन : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबिच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गर्नुभएको हो । 

कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताउनुभयो । ‘‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन्। उनीहरूमाथि कुटपिट भएको छ, उनीहरूले आत्महत्या गरेका छन् । अझ भनौँ अमानवीय कार्य नै भएको छ’’, उहाँले भन्नुभयो,  ‘‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठुलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो। त्यसलाई सबैले मिलेर फाल्नुपर्छ। त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’’

फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताउनुभयो । ‘‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौँ । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’’, उहाँले भन्नुभयो । 

निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी फिल्म निमार्ण भएको उल्लेख गर्नुहुँदै आगामी मङ्सिर ७ गते हलमा आएर ‘अग्निदहन’ हेरिदिन पनि आग्रह गर्नुभयो । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रूपमा अभियानको रूपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको जानकारी दिनुभयो । फिल्म अङ्ग्रेजी भाषामा सबटाइटल गरिएको छ । 

वरिष्ठ कलाकार, निर्देशक तथा यस फिल्मका वितरक अशोक शर्माले बोक्सी प्रथा आशङ्काको भरमा घट्ने घटना रहेको बताउनुभयो । फिल्ममा प्रकाश घिमिरे, प्रमीला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । 

फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन छ । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।  

तपाईको प्रतिक्रिया