काठमाडौँ, १४ साउन : नेपाली शास्त्रीय सङ्गीत क्षेत्रमा परिचित व्यक्तित्व गुरुदेव कामतको उपचारका लागि आर्थिक अभाव भएको छ । विगत केही महिनादेखि मिर्गाैलामा देखिएको समस्याका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उहाँ आर्थिक समस्या भएपछि जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको छ ।
दुई साताअघि घर फर्किनुभएका कामतको लहानस्थित अस्पतालमा डायलासिस भइरहेको छोरा परमेन्द्रकुमार कामतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“बुबालाई जतिसक्दो छिट्टै मिर्गाैला प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिनुभएको छ तर आर्थिक अभावले प्रत्यारोपण गर्न सकेका छैनौँ । डायलासिस गरिरहे पनि उहाँको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ ।”
सुरुआती दिनमा बुवाका शिष्यबाट प्राप्त सहयोगले उपचार गरे पनि थप रकम नजुट्दा समस्या भएको कामतले बताउनुभयो । “अहिले हामीलाई करिब रु ३० लाख चाहिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले सो रकम हामीसँग छैन । त्यसैले विभिन्न व्यक्ति, संस्था र सरकारलाई पनि सहयोगका लागि अपिल गरिरहेका छौँ । बुवालाई बचाउँन सबैको सहयोग आवश्यक छ”, कामतले भन्नुभयो ।
शास्त्रीय सङ्गीतमा निकै श्रद्धा गरिने सम्मानित व्यक्ति गुरुदेवको दुवै मिर्गाैलामा समस्या देखिएको छ । गत चैतमा समस्याको पहिचान भएपछि उहाँ काठमाडौँमा बसेर उपचार गराइरहनुभएको थियो तर आर्थिक सङ्कटको सामना गर्नुपरेपछि दुई साताअघि स–परिवार काठमाडौँ छोड्नु भएको छ ।
आर्थिक अभावकै कारण जन्मथलो फर्किएको जानकारी पाएपछि गुरुदेवसँग नजिक रहनुभएका कवि एवं मुक्तककार मुकुन्द पौडेलले सहयोगका लागि पहल गरिरहेको बताउनुभयो । “हालै उहाँका शुभेच्छुक केही व्यक्ति जम्मा भएर सहयोगका विषयमा छलफल गरेका छौँ । उहाँका शिष्य, शुभेच्छुकले सहयोग गर्नुभएमा उपचार गर्न सकिन्छ भन्ने हाम्रो बुझाई हो”, कवि पौडेलले भन्नुभयो ।
शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात हुनहुन्छ ।






