क्यानडा, २५ असार : लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलो पटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ ।
शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानडाको मुख्य प्रायोजनमा असार २३ गते सम्पन्न एक दिने महोत्सवमा पाँच हजार बढी नेपाली सहभागी भए ।
महोत्सवमा सहभागीले नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकार रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिनुभयो ।
‘यो महोत्सवमा नेपालीको सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ। हामीले अपेक्षा गरेको भन्दा दोब्बर सङ्ख्यामा उपस्थिति रह्यो’, भण्डारीले भन्नुभयो ।
महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरेका थिए। गायक हिमाल सागरसँगै कलाकार देवीका केसी, मानसिंह खड्कासहित थुप्रै स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।
गायक हिमाल सागर महोत्सवमा आफ्ना चर्चित गीत गाउनुभयो। उहाँले क्यानडामा रहेका नेपाली माझ प्रस्तुति दिन पाउँदा छुटै अनुभूति भएको बताउनुभयो ।
लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
क्यानडामा रहेका सम्पूर्ण नेपाली सङ्घसंस्थाको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपालीको सामीप्यता बढाउन सफल भएको आयोजकले बताएका छन् ।