महिला एसिया कप : अभ्यास खेलमा नेपाल श्रीलंकासँग ३३ रनले पराजित

  असार २६, २०८१

काठमाडौँ, २५ असार : महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग ३३ रनले पराजित भएको छ । एसिया कप खेल्न श्रीलंका पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेलेको हो । 

टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि आई डुलानी र नुथ्याङगनाले समान २७–२७ रन जोड्नुभयो । उहाँहरु दुवै जनाले ४१–४१ बलको सामना गर्नुभएको थियो । श्रीलंका डेभलपमेन्टले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । 

नेपालका लागि शबनम राईले १४ रन खर्चिएर तीन विकेट लिनुभयो भने राजमती ऐरीले १२ रन खर्चिएर एक विकेट हात पर्नुभयो । वर्षाले अवरुद्ध भएको खेल १५ ओभरमा छोट्याउँदा नेपालले ९६ रनको लक्ष्य पछ्याएको  थियो । नेपालले पूरै १५ ओभर खेल्दै ९ विकेट गुमाएर मात्र ६३ रन बनाएको हो । नेपालका लागि रुबिना क्षेत्रीले १७ र सीता राना मगरले ११ रन जोड्नुभयो । 

नेपालको ब्याटिङ लाइनलाई कमजोर पार्न श्रीलंकाका लागि देमी बिहङगाले मात्र ७ रन खर्चिए तीन विकेट हात पार्दा एम शिवानीले १० रन खर्चिएर दुई विकेट लिनुभयो । 

महिला एसिया कप अगाडि नेपालले श्रीलंकासँग तीन वटा अभ्यास खेल खेल्दैछ । साउन ४ गतेदेखि १३ गतेसम्म हुने एसिया कममा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेसिया, थाइल्याण्ड र यूएईसहित आठ टिम सहभागी छन् । दुई समूहमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा यूएई, पाकिस्तान र भारत छन् ।

तपाईको प्रतिक्रिया