बङ्गलादेशका अलराउन्डर सैफउद्दिन पोखरा एभेन्जर्समा

  कार्तिक ०७, २०८३

काठमाडौँ, ६ कात्तिक : बङ्गलादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले आज सामाजिक सञ्जालमार्फत सैफउद्दिनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

पोखराले बङ्गलादेशका अन्तरराष्ट्रिय अलराउन्डरलाई टोलीमा भित्र्याउन पाउँदा खुसी लागेको जनाएको छ । बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने सैफउद्दिनले सन् २०१७ मा बङ्गलादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए ।

सैफउद्दिनले बङ्गलादेशका लागि ३० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन् । त्यस्तै, उनले ५१ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । सन् २०१६ को आइसिसी यु–१९ विश्वकपमा १३ विकेट लिएका उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बङ्गलादेशको प्रतिनिधित्व गरेका थिए ।

सैफउद्दिनले बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा पाँच टोलीबाट खेलिसकेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले यसअघि बङ्गलादेशका शाकिब अल हसन र मेहदी हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ । पोखरा एभेन्जर्सले सैफउद्दिनलाई अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया