नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता

  जेठ २९, २०८१

काठमाडौँ, २९ जेठ : अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताउनुभयो ।

मन्त्री पुनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताउनुभयो । उहाँले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरू स्वदेशमै काम गर्ने वातावरण बन्ने जिकिर गर्नुभयो ।

‘‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौँ । तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौँ । संविधानले त्यो दिशा निर्देश गरिसकेको छ ।,’’ मन्त्री पुनले भन्नुभयो, ‘‘त्यो हामीले अहिले प्रस्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दछौँ । त्यसका लागि काम गर्छौँ । राजनीतिक नेतृत्व स्पष्ट छ, कति मान्छेले भन्छन् नि विज्ञ राखेर, केही टेक्निकल मान्छेहरूले नीति बनाइदिएको होइन । नेतृत्वको भिजन, दृष्टिकोण चाहिन्छ यसमा । हामी स्पष्ट छौँ, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ ।’’

मन्त्री पुनले सरकार फेरिने कुरा स्वाभाविक भएपनि नीतिहरूको निरन्तरता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभई उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताका लागि दृष्टिकोणमा प्रस्तुत गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया