जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी

  जेठ १३, २०८१

बर्मिङ्घम (बेलायत), १३ जेठ : इङ्ग्ल्यान्डका कप्तान जोस बटलर शनिबार आफ्नो देशबाट टी–२० मा तीन हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बन्नुभएको छ ।

उक्त कीर्तिमान बटलरले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा बनाउनुभएको हो । त्यस खेलमा उहाँले १६४.७ स्ट्राइक रेटका साथ ५१ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ८४ रन बनाउनुभयो ।

एक सय १५ टी–२० मा उहाँले ३५.४२ को औसत र १४५.१० को स्ट्राइक रेटका साथ खल्दै तीन हजार ११ रन बनाउनुभयो । उहाँले १०१ को उत्कृष्ट स्कोरका साथ एक शतक र २४ अर्धशतक बनाउनुभएको छ । उहाँ टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नवौँ खेलाडी हुनुहुन्छ ।

इङ्ग्लिस रन स्कोरिङ तालिकामा उहाँपछि पूर्वकप्तान इयोन मोर्गन हुनुहुन्छ । उहाँले ११५ खेल र १०७ इनिङ्समा २८.५८ को औसत र १३६ भन्दा बढीको स्ट्राइक रेटका साथ ९१ रनको उच्च स्कोरसहित १४ अर्धशतकको मद्दतमा दुई हजार ४५८ रन बनाउनुभएको छ ।

टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतका स्टार ब्याट्सम्यान विराट कोहली हुनुहुन्छ । उहाँले ११७ खेलमा ५१.७५ को औसत र १३८.१५ को स्ट्राइक रेटमा एक शतक र ३७ अर्धशतक सहित चार हजार ३७ रन बनाउनुभएको छ । कोहलीको उत्कृष्ट स्कोर १२२ रहेको छ ।

खेलमा इङ्ग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । कप्तान बटलर (५१ बलमा ८ चौका र तीन छक्कासहित ८४), विल ज्याक्स (२३ बलमा चार चौका र दुई छक्कासहित ३७) र जोनी बेयरस्टोले (१८ बलमा २१ रन, एक चौका र दुई छक्कासहित) नाउनुभएको थियो । उक्त खेलमा इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया