टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित

  जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : आइसिसी टी-२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ ।

ह्युस्टनमा शनिबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । जितसँगै नेपालले दुई खेलको सिरिज २-० ले ‘क्लिनस्वीप’ गरेको छ । नेपाल पहिलो खेलमा ६ रनले विजयी भएको थियो । 

जितका लागि एक सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा समेटिएको थियो ।

हरिकेन्सका लागि जिआ शाहजादले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै इमरान खान जुनियर र लाहिरु मिलान्था १६/१६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा कप्तान रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेलले २३, गुलशन झाले १४ तथा सन्दीप जोरा र सोमपाल कामीले १२/१२ रन बनाउनुभयो ।

बलिङमा ह्युस्टन हरिकेन्सका इमरान शेख जुनियर र जिआ शाहजादले दुई दुई तथा कोरी ड्राई र उस्मान शिनवारीले एक एक विकेट लिनुभयो । 

नेपालले अब विश्वकपका लागि सोमबार क्यानडा र बिहीबार अमेरिकासँग डालासमा अभ्यास खेल खेल्नेछ । दुवै खेल आइसिसीले उपलब्ध गराएको हो । त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

तपाईको प्रतिक्रिया