नेपाल र युएईबिच खेलको ‘न्युट्रल भेन्यु’ साउदी अरेबिया

  जेठ ०९, २०८१

काठमाडौँ, ९ जेठ : यसअघि दशरथ रङ्गशालामा जेठ २४ गतेका लागि तय भएको फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिचको खेल साउदी अरेबियामा हुने भएको छ । 

एसियन फुटबल महासङ्घ (एएफसी) ले दुई टोलीबिचको खेल जेठ २४ गते  ‘न्युट्रल भेन्यु’ साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फहद रङ्गशालामा सञ्चालन गर्ने भएको हो । एफसीले दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य रहेको भन्दै साउदी अरेबियामा खेल खेलाउन निर्देशन दिएको हो । यसअघि युएईमा भएको पहिलो लेगमा नेपाल ४–० गोलले पराजित भएको थियो । 

दशरथ रङ्गशालाको निरीक्षण गर्न आएको एएफसीका प्रतिनिधिले मैदानको दुबो, माटो सतह, फ्लड लाइट र सुरक्षाको विषयमा कमजोरी देखाउँदै नेपालका खेल सञ्चालन गर्न नसक्ने जनाएको थियो । 

यसअघि दशरथ रङ्गशालालाई कमजोरी देखाउँदै एएफसीले नेपाल र बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलाइएको थियो । चैत ८ गते भएको उक्त खेलमा नेपाल ५–० गोलले पराजित भइएको थियो । चैत १३ गते भएको दोस्रो खेलमा नेपाल बहराइनसँग पुनः ३–० गोलले पराजित भएको थियो । 

विश्वकप अन्तर्गत एसियाली छनोटमा समूह  ‘एच’ मा रहेको नेपाल यसअघिका चार खेलमा लगातार पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिइसकेको छ । यस्तै यसअघि नेपाल र यमनबिच यमनमा हुने तय भएको खेल पनि अब साउदी अरेबियामै हुने तय भएको छ ।

तपाईको प्रतिक्रिया