भिसा नपाएको सन्दीपको भनाइ

  जेठ ०९, २०८१

काठमाडौँ, ९ जेठ : क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको उल्लेख गर्नुभएको छ । लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराउनुभएको हो । 

बलात्कार मुद्दामा गत बुधबार पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारी गर्नुभएको थियो । सन्दीपलाई विश्वकपमा पठाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि उहाँमाथिको निलम्बन फुकुवा गरेको थियो । 

क्यानले आवश्यक प्रक्रिया पूरा गरेर सन्दीपलाई पठाउने तयारी गरेको थियो । सन्दीपले नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि आफूलाई त्यही गरेको फेसबुकमा लेख्नुभएको छ । उहाँले विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको भन्दै नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकसँग माफी माग्न चाहेको पनि उल्लेख गर्नुभएको छ । 

क्यानका सदस्य दुर्गा पाठकले सन्दीपले भिसा नदिएको कुरा क्यानलाई जानकारी दिएको र क्यानले अझै भिसा प्रक्रियाका लागि सक्दो प्रयास गर्ने बताउनुभयो । ‘‘सन्दीपले केही बेर अघि भिसा नपाएको जानकारी गराउनुभएको छ । उहाँ नेपाली टोलीका लागि चाहिने खेलाडी हो । आइसिसीले मे २५ तारिखसम्म टोलीका खेलाडी फेरबदल गर्न सक्ने जनाएको छ । हामी अझै सन्दीपको भिसा प्राप्तिको लागि प्रयास गर्नेछौँ,’’ पाठकले भन्नुभयो । 

तपाईको प्रतिक्रिया