राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु

  जेठ ०८, २०८१

तेहरान (इरान), ८ जेठ : हेलिकोप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ ।

राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसी र उहाँको साथीहरूको अन्त्यष्टी जुलुसमा सहभागी हुनेको ठूलो भीड रहेको देखाइएको छ ।

राष्ट्रपति रायसीको अन्त्येष्टि मे २३ मा देशको उत्तरपूर्वी सहर मशहादमा हुने उपराष्ट्रपति मोहसेन मन्सुरीले घोषणा गर्नुभयो । इमाम रेजाको समाधिमा बिहीबार साँझ अन्तिम संस्कार गरिने उहाँले बताउनुभयो । मुख्य तीर्थस्थलमध्ये एक इमाम रेजा राष्ट्रपति रायसीको गृहनगर मशहदमा अवस्थित छ । मृतकका शव पवित्र सहर कोमको पवित्र तीर्थस्थलबाट जमकरन मस्जिदमा पठाइनेछ, त्यसपछि राजधानी तेहरान लगिनेछ ।

तेहरानको ग्रान्ड मोसल्लाह मस्जिदमा बुधबार ठूला समारोह आयोजना गरिएको छ । त्यसपछि राष्ट्रपति रायसीको पार्थिव शरीरलाई मशहदको ऐतिहासिक इमाम रेजा मन्दिरमा सारिनेछ जहाँ इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले प्रार्थना गर्नुहुनेछ । खमेनीले सोमबार पाँच दिनको शोकको घोषणा गर्नुभएको हो र देशभरका कार्यालय बन्द गरी सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

इरानले जुन २८ मा राष्ट्रपति रायसीको उत्तराधिकारीका रूपमा नयाँ राष्ट्रपति चयन गर्ने सरकारी मिडियाले जनाएको छ । न्यायपालिका, सरकार र संसदका प्रमुखको बैठकको निर्णयले राष्ट्रपति रायसीको उत्तराधिकारी चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । उम्मेदवारी दर्ता मे ३० देखी जुन ३ सम्म हुने र चुनावी अभियान अवधि जुन १२ देखि २७ सम्म हुने राज्य सञ्चालित समाचार एजेन्सी इरनाले मङ्गलबार जानकारी गराएको छ ।

साथै, हेलिकप्टर दुर्घटनाको अनुसन्धान सुरु भएको छ । इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरीले मुद्दाको अनुसन्धान गर्न उच्चस्तरीय प्रतिनिधिमण्डल नियुक्त गरेको सरकारी मिडियाले जनाएको छ । ब्रिगेडियर अली अब्दुल्लाहीको नेतृत्वमा प्रतिनिधिमण्डललाई घटनास्थलमा पठाइएको, अनुसन्धान सुरु भइसकेको र मिसन पूरा भएपछि अनुसन्धानको नतिजा घोषणा गरिने इरनाले जनाएको छ ।

इरानको संविधानअनुसार सर्वोच्च नेता आयातोल्लाह खामेनीले इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोखबरलाई देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गर्नुभएको छ ।

मे १९ मा उत्तरपश्चिमी इरानको दुर्गम क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीया राष्ट्रपति रायसी, विदेश मन्त्री हुसेन अमिराबदोल्लाहियान र अन्य सात जनाको मृत्यु भएको थियो । इरानमा सन् २०२५ मा राष्ट्रपतीय निर्वाचन हुने तय भएको थियो । उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम जिम्मेवारीमा नियुक्त गरिएको छ र इरानको मन्त्रिपरिषद्ले उपविदेश मन्त्री अली बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया