हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण

  बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ ।

भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गर्नुभयो । उहाँ ‘मेम्बरअफ भिक्ट्रिोरियन अर्डर तथा अर्डरअफ ब्रिटिस इन्डिया’ पदकबाट विभूषित हुनुहुन्थो ।

बराल विसं १९७० असार ३ गते फष्ट गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भई सुवेदार मेजरबाट सन् १९३५ मा सेवानिवृत्त हुनुभयो । सुवेदार मेजर पदमा रहँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उहाँपनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा पुग्नुभएको थियो ।

दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उहाँ पुनः सैनिक सेवामा प्रवेश भई सन् १९५२ सम्म काम गर्नुभयो । यसअवधिमा उहाँलाई मानार्थ कप्तानको दज्र्यानी प्रदान गरियो । मास्टर मित्रसेन साहित्य सङ्गीतसभा–धर्मशाला हिमालञ्चल प्रदेश अध्यक्ष सल्लाहअनुरुप स्व. बरालको शालिक स्थापना गरिएको उहाँका नाती पुजन बरालले जानकारी दिनुभयो ।

पैतृकथलो तत्कालीन पाल्पा भएका साहित्यकार बरालले सन् १९५५ अप्रिलमा सो गोरखनाथ मन्दिर स्थापना गर्नुभएको थियो । उहाँको जन्म विस १९४७ मा वैशाख १६ गते र देहावसान विस २०१९ असोज ३० गते भएको थियो । उहाँ सन् १९३५ देखि १९३९ सम्म अल इण्डिया गोर्खा एशोसिएसनको अध्यक्ष हुनुभयो ।

साहित्यकार बरालको आँशुमा शीर्षकको कृतिमा गीत, गजल र भजनलगायतका सिर्जना समावेश छ । यस कृतिमा एक सय ६८ वटा रचना छन् । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत स्व खड्गजीत बराल उहाँका कान्छा छोरा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया