कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच : प्रधानमन्त्री

  बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ । आइतबार काठमाडौँको चन्द्रागिरीमा मर्स्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताउनुभयो । उहाँले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वद्युत खपतको महत्त्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताउनु भयो ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताउनु भयो । उहाँले नेपालको जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको जानकारी दिनुभयो ।

‘‘देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्न नेपाल सरकारले विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको छ । यसले विद्युत खपत बढाउनका लागि ठुलो दिशा निर्देश गर्नेछ । विद्युत खपतको महत्त्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार मात्रै भएको छैन, यसले पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकारी र निजी क्षेत्रबाट देशभर चार्जिङ स्टेशनहरु स्थापित भइरहेका छन् । अहिले करिव ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठुलो टर्निङ प्वाइन्ट पनि हो ।’’

प्रधानमन्त्री प्रचण्डले प्रसारण लाइन बिस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताउनु भयो । उहाँले विकास र पर्यावरणबिच सन्तुलन कायम हुनेगरी योजनाहरु अघि बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवम् नर्वे सरकार तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशन निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया