क्रिकेट मैदान निर्माणका लागि स्थलगत अवलोकन

  बैशाख १०, २०८१

कञ्चनपुर, १० वैशाख : नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायतको टोलीले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा अन्तर्राष्ट्रियस्तरको ‘क्रिकेट स्टेडियम’ निर्माणका लागि स्थलगत अवलोकन गर्नुभएको छ ।

सशस्त्र प्रहरी वल शैलेश्वरी गणसँगै जोडिएको ४० बिघा जग्गामा क्रिकेट खेल मैदानको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष चन्द लगायतको टोली पुगेको हो । अध्यक्ष चन्दले अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउनका लागि ठाउँ उपयुक्त रहेकाले यसका लागि पहल गरिने बताउनुभएको टोलीसँगै रहनुभएका समाजसेवी तेजबहादुर शाहले बताउनुभयो ।

“टोलीले जग्गाको अबलोकन गरेर गएको छ”, उहाँले भन्नुभयो, “स्टेडियम बनाउनका लागि स्वदेशी र दातृ निकायको सहयोग जुटाउन लाग्ने भएको छ ।” टोलीमा क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट र कोषाध्यक्ष दिनेश सिंह लगायत रहनुभएको थियो ।

वडा कार्यालयले युवा तथा खेलकुद मन्त्रालयमा क्रिकेट स्टेडियम निर्माणका लागि पाँच महिनाअघि नै प्रस्वाव पेश गरेको छ । प्रस्ताव पेश गरेपनि त्यसको प्रत्युत्तर पाउन नसकिएको वडाध्यक्ष चक्रबहादुर खडकाको भनाइ छ । डिभिजन वन कार्यालयको स्वामित्वमा रहेको क्रिकेट मैदानका लागि प्रस्ताव गरिएको सो जग्गाको संरक्षण नहँुदा अतिक्रमणको चपेटमा पर्दै गएको छ ।

तपाईको प्रतिक्रिया