कर्णाली र बागमती विजयी

  बैशाख १०, २०८१

काठमाडौँ, १० वैशाख : कर्णाली प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० पुरुष क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । चार खेलमा तेस्रो जित हात पार्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई पाँच रनको झिनो अन्तरले हरायो । 

मूलपानी माथिल्लो मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । कर्णालीको इनिङमा खेलको प्लेयर अफ दि म्याच चुनिएका ओपनर विपिन रावलले सर्वाधिक ६८ रन बनाउनुभयो । रविन्द्रजंग शाहीले ३३ तथा दिनेश अधिकारीले अविजित २९ रनको योगदान गर्नुभयो । गण्डकीका सबै चार विकेट अमृत गुरुङले लिनुभयो ।

जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा चार विकेट क्षतिमा एक सय ६३ रन मात्र बनायो । गण्डकीका ओपनर अर्जुन कुमालले सर्वाधिक ७० रन प्रहार गर्नुभयो । सन्दीप खत्रीले इनिङको अन्त्यतिर ११ बलमा अविजित १९ रन बनाएपनि जितका लागि पर्याप्त भएन । कर्णालीका दिवन पुन, प्रकाश जैशी र युनिष ठकुरीले एक एक विकेट लिनुभयो । 

त्यस्तै अर्को खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई २५ रनले हरायो । जितसँगै बागमती अङ्क तालिकाको शीर्षस्थानमा छ । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो ।

बागमतीका लागी कप्तान रित गौतमले सर्वाधिक ५६ रन बनाउनुभयो । रामनरेश गिरिले अविजित २८ रन र शुभ कंसकारले १९ रन बलुल्नुभयो । लुम्बिनीका नरबहादुर सार्कीले चार तथा कप्तान देव खनालले दुई विकेट लिनुभयो । 

लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेटको नोक्सानीमा एक सय ३७ रनमा अलआउट हुन पुग्यो । लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३८ तथा सुनिल भण्डारीले ३४ रन बनाउनुभयो । बलिङमा रिजन ढकालले सर्वाधिक तीन, रामनरेश गिरी र ईशान पाण्डेको नाममा एक एक विकेट लिनुभयो । 

तपाईको प्रतिक्रिया