आठ महिनामा १७ हजारलाई आयुर्वेद सेवा

  बैशाख ०८, २०८१

दमौली (तनहुँ), ८ वैशाख : तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०७९-८० मा १९ हजार दुई सय १७ जनालाई सेवा प्रदान गरेको थियो । चालु आर्थिक वर्षको असारसम्म गत आर्थिक वर्षकोभन्दा धेरैलाई सेवा दिने लक्ष्य रहेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८-७९ मा केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए । प्रत्येक वर्ष आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको तथ्याङ्कले पुष्टि गरेको चापागाईंको भनाइ छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा १० हजार तीन सय ८३ पुरुष र सात हजार एक सय ८९ महिलाले सेवा लिएका छन् । यस अवधिमा बहिरङ्ग सेवा लिने पुरुषको सङ्ख्या तीन हजार तीन सय १७ र महिलाको सङ्ख्या दुई हजार आठ सय ७३ छ । ज्येष्ठ नागरिक सेवातर्फ पाँच सय २५ पुरुष र तीन सय ५८ महिलाले सेवा लिएका छन् ।

योग सेवातर्फ चार हजार छ सय ४९ पुरुष र दुई हजार दुई सय ५८ महिला, पूर्वकर्म पञ्चकर्मतर्फ एक हजार छ सय ५१ पुरुष र एक हजार चार सय छ महिला, स्तनपायी आमा तथा शिशुतर्फ एक सय ३८ महिला, क्षारसुत्रतर्फ एक पुरुष र चार महिला, प्रयोगशालातर्फ दुई सय ४० पुरुष र एक सय ५२ महिलाले सेवा लिएको कार्यालयको तथ्याङ्क छ ।

चापागाईंका अनुसार साउन महिनामा दुई हजार छ सय ८१, भदौ महिनामा दुई हजार तीन सय ८०, असोज महिनामा एक हजार नौ सय ४०, कात्तिक महिनामा एक हजार पाँच सय ५४, मङ्सिर महिनामा दुई हजार छ सय ७६, पुस महिनामा दुई हजार एक सय २९, माघ महिनामा दुई हजार एक सय ९८ र फागुन महिनामा दुई हजार १४ जनाले सेवा लिएका छन् ।

जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र छन् । बन्दीपुर गाउँपालिका–१ मा डुम्रे नागरिक आरोग्य सेवा केन्द्र, घिरिङ गाउँपालिका–५ मा घिरिङ नागरिक आरोग्य सेवा केन्द्र, देवघाट गाउँपालिका–५ मा देवघाट नागरिक आरोग्य सेवा केन्द्र र आँबुखैरेनी गाउँपालिका–१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छ ।

जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । दश पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था नपुगेको चापागाईंले जानकारी दिनुभयो ।

केन्द्रले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै जिल्लाका स्थानीय तहलगायत अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवद्र्धन गरिरहेको चापागाईंको भनाइ छ ।

कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक (कविराज), दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी र एक ल्याव टेक्निसियन कर्मचारी कार्यरत छन् ।

केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी मेसिनसमेत सञ्चालनमा छ । गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि यस्ता समस्या भएका बिरामी आउने गरेको चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “हाडजोर्नी, नसा च्यापिएका बिरामीको आकर्षण आयुर्वेदमा बढ्दै छ ।”

कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ । कार्यालयले रोगअनुसारको दैनिक योग पनि सञ्चालन गर्दै आएको छ । आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया