कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई

  बैशाख ०६, २०८१

गलकोट (बागलुङ), ६ वैशाख : चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।

उपाधिका लागि आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझो सेटमा घुम्टे रेष्टुरेन्टलाई पराजित गर्दै उपाधि जितेको हो । योसँगै आर्मी क्लबले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । आर्मीसँग हारेको घुम्टे रेष्टुरेन्टले उपाधिको दोस्रो पुरस्कारमा चित्त बुझाएको छ ।

फाइनल खेलको पहिलो सेटमा त्रिभुवन आर्मीले घुम्टे रेष्टुरेन्टलाई २५–१८, २५–१२ र २५–२२ अङ्कले पराजित गरेको थियो । बुधबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेन्टले कालिका युवा क्लबलाई सोझो सेटमा पराजित गरेका थिए ।

उपाधिको तेस्रो पुरस्कार भने कालिका युवा क्लबलाई सोझो सेटमा हराउँदै कस्तुरी युवा क्लबले हात पारेको छ । प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार र तृतीयले रु एक लाख पुरस्कार प्राप्त गरेका भलिबल खेल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया