एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने

  बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह ‘ए’को विजेता नेपालले समूह ‘बि’को उपविजेता यूएईसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।

समूह चरणको अन्तिम खेलमा बुधबार  साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । 

त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङसँग प्रतिस्पर्धा गर्नेछ। हङकङ समूह ‘ए’को उपविजेता हो भने  ओमान समूह ‘बी’को विजेता हो । 

समूह चरणको अन्तिम खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ७५ रन बनाएर पूरा गरेको हो। वर्षाका कारण आठ ओभरमा घटाइएको खेलमा साउदीले ७ विकेटको क्षतिमा नेपालविरुद्ध ७३ रन बनाएको थियो । 

नेपालको जितका लागि गुल्सन झा र कप्तान रोहित पौडेलको योगदान उल्लेखनीय रह्यो। झाले नटआउट १९ बलमा ३२ रन जोड्नुभयो भने कप्तान पौडेलले नटआउट ७ बलमा १६ रन बनाउनुभयो । 

नेपालका ओपनर कुशल भुर्तेल २ बलमा शून्यमै आउट हुँदा आसिफ शेखले ३ बलमा २ रन मात्र जोड्नुभयो। कुशल मल्ल ५ बल खर्चिएर दुई रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरीले ९ बलमा १७ रन बनाउनुभयो । 

नेपालको सुरुवाती ब्याटिङ लाइनलाई धरापमा पारेको साउदीका लागि इश्तियाक अहमदले दुई विकेट लिनुभयो भने उस्मान नजीब र वाजी उल हसनले एक–एक विकेट हात पार्नुभयो । 

सुरुमा ब्याटिङ गरेको साउदीका लागि १६ बल खेल्दै अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाउनुभएको थियो। नेपाली बलरसामु अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । 

टस जितेर साउदीविरुद्ध सुरुमा बलिङ गरेको नेपालका लागि करण केसी र अविनाश बोहोराले समान दुई–दुई विकेट लिनुभयो भने ललित राजवंशी र प्रतिश जिसीले समान एक–एक विकेट हात पार्नुभयो ।

समूहको पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको नेपालले तेस्रो खेलमा हङकङमाथि ८ विकेटको जित निकालेको थियो। नेपाल अपराजित हुँदै एक खेल अगाडि नै सेमिफाइनल पुगेको थियो । 

दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका हुन्। सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन्। नेपाल र यूएईको खेल बिहान ११:४५ मा सुरु हुनेछ भने हङकङ र ओमानको खेल दिउँसो ३:४५ मा सुरु हुनेछ। सेमिफाइनल विजेताबीच फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया