बैशाख ०४, २०८१

बीचमा अन्य कारणले अवरोध नआएमा आगामी वर्षभित्र यो मार्ग पूर्ण रुपमा सञ्चालन हुने छ । यो सुरुङ मार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ सिस्नेखोलादेखि बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङ मार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई समेत हिसाब गर्दा एक व्यक्तिको झन्डै आधा घन्टा समय बचत हुने देखिएको कोइराला बताउनुहुन्छ । साथै यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङ मार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नाका साथै प्रविधि हस्तान्तरणमा समेत सहयोग पुर्याउने कोइराला बताउनुहुन्छ । “अब नेपालीले पनि यस्ता सुरुङमार्ग बनाउन सक्छन् भन्ने स्थापित भएको छ”, उहाँले भन्नुभयो । हाम्रोजस्तो ८५ प्रतिशत पहाडी भूभाग भएको र नदीनालाका कारण कहीँबाट कतै जान उकाली ओराली गर्नुपर्ने र अनगिन्ती घुम्तीबाट गुज्रनुपर्ने बाध्यतालाई सुरुङमार्गले कम गर्न सक्ने उहाँ बताउनुहुन्छ । “कुनै पनि एक प्रस्थान विन्दुबाट गन्तव्यसम्म सिधा जोड्ने अवसर सुरुङ मार्गले दिन्छ”, उहाँ थप्नुहुन्छ । यसबाट बचत हुने समय र इन्धनको हिसाबले त सुरुङ मार्गको फाइदा बहुआयामिक देखिने पनि उहाँले बताउनुभयो ।

चार वर्षअघि सुरुङ गर्दा कसरी गर्ने भन्ने अन्योल भए पनि त्यसको अनुभवका आधारमा भविष्यमा नेपालमा थुप्रै सुरुङ बन्ने देखिएको धारणाको उहाँको छ ।

सुरुङ मार्गको डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर डा भोला घिमिरेका अनुुसार समग्र देशकै आत्मविश्वास उत्पन्न भएको छ । नेपालीमा अब सुरुङ खनेर विकास गर्ने आँट आएको बताउनुहुन्छ ।

अनुमानित समयबाट निश्चित समयतर्फ
ब्रेक थ्रू नहुँदासम्म दिनमा कति मिटर खनिन्छ र कहिले सकिन्छ भन्ने अनुमानमा चल्नुपर्ने अवस्थाबाट आजदेखि सुनिश्चितातर्फ लागेको कोइराला बताउनुहुन्छ । यातायातका लागि अत्याधुनिक यो सुरुङ मार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । यसका लागि १५ वटा जेट फ्यान आवश्यक हुने कोइराला बताउनुहुन्छ । यसका साथै कूल दुई हजार ६ सय ८८ मिटर दूरीमा चौबिसै घन्टा उज्यालो आवश्यक हुन्छ । बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेसनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो । साथै जेनेरेटरलाई पनि तयारी हालतमा राख्ने व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो ।

यसबाहेक निरन्तर सञ्चार संयन्त्र तथा अग्नि नियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र (टनेल फ्यासिटी) हरहमेसा तयारी हालतमा राख्नुपर्छ । आगलागी सुरुङ मार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ । आगलागी भइहालेको अवस्थामा सुरुङभित्र जडित अग्निसमन यन्त्रको तत्काल प्रयोग गर्ने कन्ट्रोल रुमलाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङ मार्गमा रहेका र पस्दै गरेका सवारी साधनहरुलाई माइक र एफएम रडियोमार्फत तत्काल दिनेजस्ता कार्य हुनेछन् । त्यसपछि ट्राफिक व्यवस्थापन र डाइभर्सन तत्काल गराउने, सुरुङ मार्गमा राखिने भिजुअल बोर्डमा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचनाहरु डिस्प्ले गराउने र सबै सञ्चारमाध्यमम समेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिनुहुन्छ ।

सुरुङको सुरक्षाका लागि सिसिटिभी क्यामेरा तथा सबै संयन्त्रको सञ्चालन गर्न एक कन्ट्रोल रुमसमेत सुरुङ मार्गको पूर्वी पोर्टल नजिक बन्दै छ । सामान्यतया सुरुङ मार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनहरुमा निर्बाध रेडियो बजून् भन्नका लागि रेडियो सिग्नल पु-याउने सञ्जाल त्यहाँ स्थापना गरिनेछ । उल्लिखित सबै कार्यका लागि पर्याप्त जनशक्तिको व्यवस्थापन हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया