पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने

  बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्नुहुने भएको छ । 

दशरथ रङ्गशालामा मङ्गलबार हुने उद्घाटन कार्यक्रममा दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने छ। टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुने राखेपले जनाएको छ । परिक्रमापछि पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्नुहुनेछ । दीप प्रज्ज्वलन कार्यक्रमको संयोजन नेपाल ओलम्पियन्स सङ्घले गरिरहेको अध्यक्ष दीपक विष्टले जानकारी दिनुभयो । 

चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसक्नुभएको छ । पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी हुनुहुन्छ । 

पलेशाले चीनको होङझाओमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रच्नुभएको थियो । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया