अन्तर प्रदेश खेलकुद : महिला फुटबलको उपाधि कोशीलाई

  बैशाख ०२, २०८१

भरतपुर, २ वैशाख : चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो ।

प्रतियोगिताको १२औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । कोशीको जित पक्का गर्न खेलको ३८औँ मिनेटमा समीक्षा रानामगरले दोस्रो गोल गर्न सफल भइन् ।

उत्कृष्ट प्रर्दशन गरेकी कोशीकी सिम्रन राई ‘प्लेयर अफ दी म्याच’ हुन सफल भइन् । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर कोशी प्रदेशका कुश्मा राई, उत्कृष्ट गोलरक्षक कोशीका सुशीला केसी, उत्कृष्ट प्रशिक्षक कोशीका सुरेन्द्र तमाङ र उत्कृष्ट मिडफिल्डर भने सुदूरपश्चिम प्रदेशका बिर्सना चौधरी भइन् ।

प्रतियोगिताको उपाधि जित्न सफल कोशी र उपविजेता सुदूरपश्चिम प्रदेशलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेल भइरहेका छन् ।

तपाईको प्रतिक्रिया