नेपाल कतारविरुद्ध पहिले ब्याटिङ गर्दै

  बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा साबिक विजेता नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोज्नुभएको हो । 

नेपाल कतारविरुद्ध लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो । 

नेपालले समूहको तेस्रो खेल ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । 

तपाईको प्रतिक्रिया