नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै

  चैत २९, २०८०

नेपालगञ्ज, २९ चैत : आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको रु चार करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा थालिएको भवन अहिले निर्माणाधीन रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा गीता रेग्मीले जानकारी दिनुभयो ।

केन्द्रप्रमुख रेग्मीका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ स्थित रानीतलाउ नजिकै निर्माणधीन पञ्चकर्म भवनलाई १५ श्ययाको आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य छ । सम्झौताअनुसार आगामी वैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । “पञ्चकर्मका सबै विधिमा उपचार गर्न धेरै कक्ष आवश्यक पर्छन्”, उहाँले भन्नुभयो ।

हाल केन्द्रले बिरामी परीक्षण, जीवनशैलीसँग सम्बन्धित परामर्श, भान्सा सुधार कार्यक्रम, शिक्षकलाई आयुर्वेद योग शिक्षालगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको बताउनुभयो ।

उहाँले सीमित जनशक्तिबाट धेरै काम गर्न परेको अनुभव सुनाउँदै सात जनाको दरबन्दी रहेकामा दुई जना मात्रै स्थायी जनशक्ति भएको बताउनुभयो । उहाँले १५ श्ययाको पञ्चकर्म भवन निर्माण भएपछि जनशक्ति पनि बढने विश्वास व्यक्त गर्दै अहिले पनि २०४५ सालमा स्वीकृत जनशक्तिले काम गरिरहेको उल्लेख गर्नुभयो ।

थेरापीमा आकर्षण बढ्दै
बाँकेमा सञ्चालित विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रमा विभिन्न थेरापी लिनेको सङ्ख्या पनि बढिरहेको छ । चालु आवको छ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन् । ज्येष्ठ नागरिकतर्फ नौ सय २७ ले सेवा लिएका छन् । योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ । दूध खुवाउने छ सय ३५ आमाले सेवा प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया