राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

  चैत २८, २०८०

काठमाडौं, २७ चैत : राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।

उपाध्यक्षका लागि मङ्गलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।

एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो ।

आजको राष्ट्रिय सभा बैठकमा सदस्य दुर्गा गुरुङले पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सदस्य घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त दुवै प्रश्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूचि छ ।

तपाईको प्रतिक्रिया