विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

  चैत १६, २०८०

सुन्दरहरैँचा (मोरङ), १६ चैत : विराटनगरको सहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा न्युरोड टिम (एनआरटी) प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

आज भएको रात्रिकालीन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई दुई–शून्य गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६औँ मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए । आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५औँ मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गरे । डिबक्सभित्र वैकल्पिक खेलाडी सुदीप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पञ्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो ।

खेलको म्यान अफ द म्याच एनआरटीका आफिज ओलावा घोषित भए । उनले नगद रु ११ हजार पाए । शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ ।

यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पाउनेछन् ।

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही रु २१ हजार पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने गोल्डकपका अध्यक्ष शाहीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया