खप्तडमा साइकल यात्रा गरिने

  चैत १४, २०८०

गोदावरी (कैलाली), १४ चैत : सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो । खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी अघि बढेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो ।

आगामी वैशाखभित्रै साइकल यात्रा गर्ने गरी तयारी अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । खप्तडको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०-८१ मा रु १० लाख बजेट विनियोजन गरिएको निमित्त प्रमुख बोहराले बताउनुभयो ।

सो साइकल यात्रा डडेल्धुरादेखि खप्तडको त्रिवेणीधामसम्म गरिने योजना रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्रामा सहभागी हुन चाहने व्यक्तिलाई कार्यालयको समन्वयमा ल्याउने काम भइरहेको बोहराको भनाइ छ ।

यसैगरी, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणीधामसम्म चार दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण गर्न रु ९९ लाख ९९ हजार छ सय ७५ बजेट विनियोजन गरी ठेक्का सम्झौता भइसकेको जनाइएको छ ।

सो कार्यका लागि कार्यालयले बोलपत्र आह्वान गर्दा रु ३८ लाख ५८ हजार छ सय ६८ दशमलव आठमा अपी सैपाल मार्मा कन्स्ट्रक्सन एन्ड सप्लायर्स मार्मा दार्चुलासँग ठेक्का सम्झौता गरिएको छ ।

खप्तडमा पर्यटकका लागि खाने बस्नेलगायत आवश्यक पूर्वाधार निर्माणसहितको सुविधा दिनसके आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि मात्र नभई प्रदेशको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा २२ वटा पाटन र ५३ वटा थुम्का रहेको जनाइएको छ । खप्तड बझाङ, बाजुरा, डोटी र अछामको सङ्गमस्थलका रूपमा रहेको छ ।

तपाईको प्रतिक्रिया