युएसए खुला करातेमा नेपालका दुई खेलाडीले भाग लिँदै

  चैत १२, २०८०

काठमाडौँ, १२ चैत : युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा यही चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले भाग लिनेछन् । एरिका १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताका रजत पदक विजेता हुन ।

गत असोजमा चीनको ग्वान्झाउमा सम्पन्न एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । त्यस्तै विप्लवलालले घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक दिलाएका थिए ।

युएसए खुला प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । विप्लवलालले पुरुष ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन । कुशलबाहेक अन्य तीन सदस्य नेपाली टोली आजै अमेरिका प्रस्थान गर्नेछन् । त्यस्तै कुशल भने भोली अमेरिका प्रस्थान गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

तपाईको प्रतिक्रिया