इण्डो–नेपाल टी–२० : लखनउको लगातार दोस्रो जित

  चैत १०, २०८०

भरतपुर (चितवन), १० चैत : यहाँ जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको पहिलो खेलमा लखनउले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले पराजित ग-यो । यो लखनउको लगातार दोस्रो जित हो ।

आजै भएको दोस्रो खेलमा तालतला इन्स्टिटाइट कोलकाताले मधेस प्रदेशलाई तीन विकेटले पराजित ग-यो ।

आजको जितसँगै लखनउ दुई खेलमा दुई जितपछि चार अङ्क बटुल्दै प्रतियोगिताको शीर्षस्थानमा छ भने एक खेलमा एक जितका साथ दुई अङ्कका साथ सुदूरपश्चिम दोस्रो, समान दुई अङ्क रहेको कोलकाता तेस्रो र दुई खेलमा एक जित र एक हारसहित दुई अङ्कका साथ भरतपुर मेयर्स चौथो स्थानमा रहेको । लगातार दुई हार व्यहोरेको मधेस प्रदेश र बागमती प्रदेश क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिघालाई
प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिघाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आबुखैरेनीलाई हराउँदै २८ बिघाले उपाधि चुमेको हो । फाइनल खेलमा २८ बिघाले आबुखैरेनीलाई २–० गोलले हरायो ।

२८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । खेलको ५३औँ मिनेटमा २८ बिघाले सृजनको गोलमा अग्रता लिएको थियो । खेलको ७७औँ मिनेटमा आबुखैरेनी नौ खेलाडीमा सीमित भयो । देव गुरुङले दोहोरो पहेँलो कार्ड पाए भने सौगातप्रताप गुरुङले रातो कार्ड पाए । २८ बिघा पनि १० खेलाडीमा सीमित भयो । उसका सुजित बुढाथोकीले रातो कार्ड पाए ।

आबुखैरेनी नौ खेलाडीमा सीमित भएको फाइदा उठाउँदै २८ बिघाले गोल थप्यो । खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिघा दुई–शून्यले विजयी हुँदै च्याम्पियन बन्यो ।

एक गोल र एउटा गोलका लागि एसिस्ट गरेका सृजन प्लेयर अफ दी म्याच भए । विजेता २८ बिघाले रु तीन लाख तीन हजार प्राप्त गरेको छ । उपविजेता आबुखैरेनीले रु एक लाख ५० हजार प्राप्त ग-यो ।

आबुखैरेनीका आकाश थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । २८ बिघाका रञ्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका गोलकिपर वीरेन्द्र सारुमगर उत्कृष्ट गोलकिपर बने ।

उनीहरूले जनही रु पाँच–पाँच हजार र चौकीडाँँडाबाट प्याराग्लाइडिङको अवसर प्राप्त गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए ।

तपाईको प्रतिक्रिया