डिडिसीले किसानबाट सङ्कलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

  चैत ०९, २०८०

काठमाडौं, ९ चैत : किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध सङ्कलन भए पनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो ।

संस्थानले मुलुकभरका दुध वितरण केन्द्रबाट सङ्कलन भएको दुध प्रशोधनपश्चात बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ । संस्थानले दुध किसानहरुले भुक्तानी नपाउनुका कारण पनि दुधबाट बनाएको मखन लगायत पाउडर दुध किसानले पाउने भुक्तानीभन्दा बढी मूल्य बराबरको मौज्दात भएका कारण भुक्तानीमा समस्या आएको जनाएको छ ।

काठमाडौं, हेटौँडा, लुम्बिनी, नेपालगञ्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दुध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताउनुभयो । उहाँले पाउडर दुध मात्रै नभएर मखन सात लाख ६७ हजार १४४ केजी (सात सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताउनुभयो । उहाँले काठमाडौं दुध वितरण आयोजनामा तीन लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभर गरी एक अर्ब ३५ करोड पाँच लाख ४६ हजार ८५० रुपियाँ बराबरको दुध स्टक रहेको दाबी गर्नुभयो । उहाँले दुध बिक्रीको लागि बजार विस्तारको ठूलो सम्भावना भए पनि सबै ठाउँमा पु¥याउन नसकिएको बताउनुभयो ।

प्रमुख यादवले डिडिसीको दुध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताउनुभयो । उहाँले दुध खरिद बिक्री र सङ्कलनमा अस्वस्थ प्रतिस्पर्धा हुँदा समस्या आएको जानकारी दिनुभयो । उहाँले आयोजनासँग भएका मेसिनहरु जिर्ण भएकले पनि दुध प्रशोधनमा समस्या रहेको बताउनुभयो । प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकमभन्दा बढीको दुध मौज्दात हुँदा चालुपँजीको अभाव झेलिरहेको बताउनुभयो ।

प्रमुख यादवले पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको जानकारी दिनुभयो । उहाँले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताउनुभयो । उहाँले आयोजनासँग डेढ लाख लिटर क्षमताको दुध भण्डारण गर्नसक्ने क्षमता रहेको बताउनुभयो । उहाँले तीन सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र चार सय मेट्रिक टन पाउडर दुध भण्डारणको क्षमता रहेको बताउनुभयो ।

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर छ । दुध सङ्कलनको कार्य क्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आबद्ध भएर एक लाख घरधुरीबाट दुध सङ्कलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दुध सङ्कलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिब ७० हजार लिटर दुध बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया