पेनड्राइभ’ र ‘मेराकी’ कवितासङ्ग्रह लोकार्पित

  फागुन २०, २०८०

काठमाडौँ, १३ फागुन : कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कवितासङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी ः आत्माले भिजेका कविताहरू’ आज यहाँ लोकार्पण गरिएको छ । ‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेशप्रेम, प्रकृति, प्रेम, सौन्दर्य, गामबेंसी, नारी अस्मिता, संवेदना विषयका ६३ गीत–कविता तथा ‘मेराकी’ (कामप्रतिको समर्पण भाव) मा मुक्तिको चाहना राखिएका ३७ कविता समाविष्ट छन् ।

राष्ट्रकवि माधव घिमिरेका सन्तान घिमिरे र पौडेलका कृतिकोे विमोचन आमा महाकालीसहितले विमोचन गर्नुभएको हो । पौडेलका यसअघि गीत, ‘गीति एल्बम, गजल, कथा, कविता, सम्पादन गरेर १२ कृति प्रकाशन भइसकेका छन् भने घिमिरेको यो पहिलो कृति हो । दुवै ‘आवरण प्रकाशन’ द्वारा प्रकाशन भएका हुन् ।

सो अवसरमा प्रा डा कृष्णहरि बरालले ‘पेनड्राइभ’ माथि समीक्षा गर्दै लयात्मक, ध्वन्यात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक शैली तथा सरल अभिव्यक्तिबाट काव्यको शक्ति र ज्योति छर्न सकेको बताउनुभयो । नियात्राकार प्रतीक ढकालले ‘मेराकी’ मा विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै अनौठो रहेको जनाउँदै आफूले घिमिरेलाई आफूभित्र हेर्ने कविका रूपमा पाएको बताउनुभयो ।

कवि पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले स्वदेशको मायामा र बालबालिकाका लागि पनि गीत–कविता कोरेको बताउनुभयो भने कवि घिमिरेले आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको स्पष्ट गर्नुभयो । दुवै समीक्षकले कृतिकारहरूलाई पिताको प्रभावबाट मुक्त हुन पनि सुझाव दिनुभयो ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले तीन वर्षअघि स्थापित संस्थाले लोकार्पित कृति संस्थाको १५औँ र १६औँ कृति भएको र आफूले ७०० भन्दाबढी कृतिमा आवरण कोरेर सेवा गरेको बताउँदै आफ्नो प्रकाशनले स्रष्टाहरूको प्रतिलिपि अधिकार र प्रचारप्रसारका लागि पनि काम गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया