सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

  फागुन १७, २०८०

मन्थली (रामेछप), १७ फागुन : विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन बनेका थिए । ती विद्यालयमा विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । शैक्षिक गुणस्तर नहुनु, जनसङ्ख्या वृद्धिदर न्यून हुनु र सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुनु लगायतका कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका मुख्य कारण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापका प्रमुख भरतबहादुर भट्टराईले बताउनुभयो ।

यसअघि जिल्लामा चार सयभन्दा बढी विद्यालय भए पनि विद्यार्थी कम भएकै कारण समायोजन भएर तीन सय ६० को सङ्ख्यामा झारिएका थिए । तर अझै विद्यार्थीको अभावमा ती विद्यालय एकअर्कामा समायोजन भई घट्ने अवस्था रहेको छ । यस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जान लागेपछि सुधारको प्रयासका लागि जिल्ला शिक्षा समन्वय एकाइ, विभिन्न पालिकामार्फत हुने गरेका तालिम, गोष्ठी, अन्तक्र्रिया एवं छलफलले पनि खासै काम गर्न सकेको छैन ।

पूर्वशिक्षक गुञ्जबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने र गाउँमा समानुपतिक विकास नहुनुनै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जाने गरेको बताउनुभयो । जिल्लामा पाँच नमूना माध्यमिक विद्यालय छन् एक÷दुई वटाबाहेक ती विद्यालयले पनि खासै गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी आकर्षण गर्न सकेका छैनन् ।

मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि भने अझै शैक्षिक गुणस्तर खस्कँदै गएको जनाइएको छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयले पनि जथाभावी विभिन्न बहानामा शुल्क असुल्ने गरेको र घरमा रहेका आफूजस्ता अभिभावक सौखिन भएका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या नबढेको अभिभावक शान्ति प्रकाश दाहालले जानकारी दिनुभयो ।

सबै तहका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने खालको दक्ष शिक्षक नहुनु, शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नपढाउनु, शिक्षक नियुक्ति गर्दा अनुभवी र दक्ष एवं राम्रा शिक्षकलाई भन्दा हाम्रा÷९आफ्ना, आफन्त० शिक्षकलाई प्रक्रिया मिलाएर नियुक्ति गर्ने गलत अभ्यास बढेको जनाइएको छ । अभिभावक सञ्जय वाग्लेले शिक्षक सेवा आयोगबाट आधारभूत वा माध्यमिक तह पास गरेर आएका शिक्षकमध्ये पनि पहुँचवालालाई मात्र आफ्नो पालिकामा ल्याउन पहल गर्नु नै शैक्षिक गुणस्तर खस्कनु र विद्यार्थीको सङ्ख्या घट्नुका कारण भएको बताउनुभयो ।

यसो त कक्षा १ देखि १२, सम्म निःशुल्क पाठ्यपुस्तक, ५ कक्षासम्म दिवा खाजाको व्यवस्था, टोलटोलबाट विद्यार्थी ल्याउन विद्यालयमा बसलगायतका सुविधा पनि नभएको भने होइत तर यी सुविधा हुँदाहूँदै पनि विद्यार्थीको सामुदायिक विद्यालयमा आकर्षण बढ्न सकेको छैन ।

संस्थागत विद्यालयसँग नमूना माविको रुपमा रहेको मन्थली मावि मन्थली र मावि डहुलेभन्दा बाहेकका अन्य माध्यमिक विद्यालयले गुणस्तरमा भने प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यही कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न नसकेको हो । आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको अभिभावकको आरोप छ । दक्ष तथा अनुभवी एवं युवापुस्ताका शिक्षकलाई नयाँ नियुक्ति दिने र २० वर्ष वा सोभन्दा बढी समयसम्म शिक्षण गरेका शिक्षकलाई पेन्सन दिनुपर्ने अभिभावक नारायणबाबु बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया