राष्ट्रिय गौरवका आयोजनामध्ये चारवटाको प्रगति ८० प्रतिशतभन्दा माथि

  फागुन १६, २०८०

काठमाडौं, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये तीन वटा सम्पन्न भइसकेका बताउनुभयो ।

त्यस्तै, उहाँले चार वटाको प्रगति ८० प्रतिशत माथि, छ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र छ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिनुभयो ।

यसैगरी, पाँच वटाको प्रगति १० प्रतिशत मुनी रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुनकोशी–मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताउनु भयो ।

त्यस्तै विद्युत प्रशारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडि बढेको उहाँको भनाइ छ ।उहाँले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकम लगायतसँग छलफल भएको बताउनुभयो । सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करबाट प्रतिलिटर पाँच रुपियाँ उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनु भयो । त्यस्तै व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले हुलाकी राजमार्गका बाँकी पुलहरुको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आवको बजेट तर्जुमाका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिइएको बताउनु भयो । उहाँले जयनगर–जकपुर–कुर्था–भगाहा रेलवेमा कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै, काठमाडौं–तराई÷मधेश द्रुतमार्गको प्रवेश बिन्दु रहने खोकनाको जग्गा अधिग्रहणका लागि स्थानीय समुदायसँग छलफल भइरहेको उहाँले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको बताउनु भयो । उहाँले आयोजनाको हेडवक्र्स सम्मको पहुँचमार्ग हिउँदमा सञ्चालन हुनेगरी पुनर्निर्माण गरिएको पनि बताउनु भयो ।

तपाईको प्रतिक्रिया