‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु

  फागुन ०५, २०८०

काठमाडौँ, ५ फागुन : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि काठमाडौँमा सुरु भएको छ ।

नेपाल कलापरिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा आज आयोजित चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । प्रदर्शनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिगो पर्यटन विकासका लागि यसप्रकारको अन्तर्राष्ट्रिय प्रदर्शनीले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल प्रकृति र संस्कृतिमा धनी छ”, मन्त्री किरातीले भन्नुभयो, “ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समग्र खोटाङ जिल्लाको मुलभूत प्राकृतिक र सांस्कृति सम्पदालाई चित्रकलामार्फत उतारेर खोटाङलाई नयाँ माध्यमबाट चिनाउन सफल भएको छ । यस कार्यले प्र्रकृति र संस्कृतिमा आधारित दिगो पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको छ ।”

‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु राखिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङको समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने चित्र प्रदर्शनी गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । पालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । “सामाजिक उत्थानका लागि यस प्रदर्शनीले सहयोग गर्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रदर्शनीका अवसरमा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुने नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज १७ देखि २१ गतेसम्म १९ विदेशी र २४ स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन, भ्रमण गरी स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एक सय नौ वटा जीवन्त चित्र कोरिएको थियो ।

जिल्लाका १० वटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र, स्थानीय रहनसहन र जीवनशैलीको प्रचारप्रसार गर्नु आवश्यक रहेकाले चित्रकलामार्फत उक्त काम थालिएको नगर उपप्रमुख राईले बताउनुभयो । दैनिक एक हजार कला पारखीले चित्रकला प्रदर्शनीको अवलोकन गर्ने आयोजले जनाएको छ ।

तपाईको प्रतिक्रिया