गण्डकी, ३ फागुन : नेपाल साहित्य महोत्सव आजदेखि पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नुभयो ।
साहित्य महोत्सवले पर्यटकीय राजधानी घोषणाको तयारीमा रहेको पोखरालाई अलग पहिचान दिलाएको उहाँले बताउनुभयो । “सांस्कृतिक विविधतासहितको सामाजिक ऐक्यबद्धता महत्वपूर्ण पक्ष हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “साहित्य महोत्सवले पोखरालाई समुन्नत सहरका रुपमा स्थापित गर्न मद्दत पुग्नेछ ।”
राजनीति र साहित्यको अन्तिम ध्येय समाजको परिवर्तन भएको उहाँले बताउनुभयो । “कुनै पनि मुलुकको राजनीतिक परिवर्तनमा कला, साहित्यको महत्वपूर्ण भूमिका रहन्छ, अभिव्यक्तिको सशक्त माध्यम साहित्य हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामी राजनीतिकर्मी पनि साहिबाट वस्तुनिष्ठ आलोचना चाहन्छौँ ।”
कला, साहित्य, सङ्गीत, शिक्षा, राजनीति, अर्थशास्त्रलगायत समाजका विविध विषयमा हुने बहस र तिनमा सहभागी हुने देशविदेशका वक्ताका कारण साहित्य महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उहाँले बताउनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले पोखरा कला, साहित्यको उर्वर भूमि भएको बताउनुभयो । उहाँले साहित्य महोत्सवको माध्यमबाट यस क्षेत्रको चिनारी फैलिएको धारणा बताउनुभयो । कला–साहित्यको उत्थान र प्रवद्र्धनका लागि राज्यले लगानी बढाउनुपर्ने कुलपति खड्काले बताउनुभयो ।
महोत्सवका कार्यकारी निर्देशक नीरज भारीले अनेकौँ अभावमा पनि महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो ।