विकास बैङ्क र फाइनान्सलाई कारबाही

  फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : नीति निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

नारायणी डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सलाई राष्ट्र बैङ्कले कारबाही गरी जरिबाना पनि तिराएको हो ।

नारायणी डेभलपमेन्ट बैङ्कलाई चालु आर्थिक वर्ष २०८०/८१ मा योसमेत तेस्रो पटक कारबाही गरेको राष्ट्र बैङ्कले जनाएको छ । नारायणीले अनिवार्य नगद मौज्दात कायम नराखेको, कर्जा निक्षेप अनुपात तोकिएको ९० प्रतिशतभन्दा बढी भएका कारण कारबाही गरिएको हो ।

बैङ्कलाई कर्जा निक्षेप अनुपात कायम नगरेका कारण दुई लाख ४१ हजार जरिबानासमेत लगाइएको छ भने अनिवार्य नगद मौज्दात नराखेको आधारमा १२ हजार आठ सय रुपियाँ जरिबाना लगाइएको छ ।

यस्तै मुक्तिनाथ विकास बैङ्कका सञ्चालक समिति, समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई ग्राहक संरक्षण कोषको रकम अन्य क्षेत्रमा खर्च गरेको भन्दै सचेत गराइएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैङ्कले नियमविपरीत स्वतन्त्र सञ्चालकका रूपमा पुनः नियुक्त गरेको पाइएको भन्दै अब उप्रान्त त्यस किसिमको कार्य नगर्न सचेत गराइएको राष्ट्र बैङ्कले जनाएको छ ।

सप्तकोशीका स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि समेत स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्थाविपरीत निजलाई दोस्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकका रूपमा पुनः नियुक्त गरेको पाइएकाले अब उप्रान्त त्यस किसिमका कार्य नगर्न सचेत गराइएको हो ।

आधार दर गणनासम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई सिइओले निर्देशनविपरीत आफ्नो तजबिजले एकै महिनामा पटक पटक कोर बैङ्किङ सिस्टममा गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दरसम्बन्धी राष्ट्र बैङ्कमा पेस हुँदै आएको विवरणसमेत यथार्थ नभएकाले सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कको निर्देशनविपरीत आव २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी नियामकीय व्यवस्था उल्लङ्घन गरेको पाइएकाले गुहेश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सका सिइओलाई सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।

कर्जा प्रवाह गर्दा कर्जा पूर्ण रूपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैङ्किङ क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रक्रिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको भन्दै राष्ट्र बैङ्कले प्रोगे्रसिभ फाइनान्स र गुडविल फाइनान्सलाई कारबाही गरेको छ । दुवै फाइनान्सले महर्जन बिजनेस एसोसिएट्स प्रालिलाई कर्जा प्रवाह गर्दा कर्जा पूर्ण रूपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैङ्किङ क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रक्रिया नअपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको राष्ट्र बैङ्कको भनाइ छ । 

यस्तै सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको लगानीलाई दृष्टिबन्धकमार्फत सुनिश्चित नगरेसम्म कर्जा पूर्ण रूपमा सुरक्षित नरहेकाले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न सञ्चालक समिति र सिइओलाई सचेत गराइएको राष्ट्र बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया