आज पनि मौसम बदली : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

  मंसिर २७, २०८०

काठमाण्डाै, २७ मंसिर : काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । दिनभर पनि मौसम बदली हुने र मौसमको यो अवस्था अझै केही दिन रहने मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । केही दिन यता लगातार मौसम बद्ली भइरहेको छ । हिउँदयामको यो बेला पश्चिमी वायुको प्रभाव धेरै रहने भएकाले मौसम बद्ली हुने प्रक्रिया खासै नौलो नभएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु, कुहिरो केहीबेर पछि हटेर घाम लाग्ने छ । तर, घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो  । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको उहाँको भनाइ छ । यस्तै, तराईका जिल्लामा भने दिउँसो पछि मात्रै हुस्सु हट्ने मौसमविद् पुडासैनीले बताउनुभयो।

तपाईको प्रतिक्रिया