पूर्वी तराईमा बाक्लो हुस्सु, काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झर्यो

  मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : पूर्वी तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो १, २ बजेपछि मात्रै त्यस क्षेत्रमा लागेको हुस्सु बिस्तारै हट्दै जाने सम्भावना छ । त्यसपछि यी क्षेत्रमा मधुरो घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित अरु क्षेत्रमा लागेको हुस्सु भने बिस्तारै हट्न थालेको छ ।

आज कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । काठमाण्डौको न्यूनतम तापक्रम लगातार घटिरहेको छ । काठमाण्डौको बिहान ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

भोलिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् । तर, पर्सि मङ्गलवार भने वर्षा र बाक्लो हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले पर्सि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

पर्सिदेखि चिसो अझ बढ्ने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्को सुझाव छ । 

तपाईको प्रतिक्रिया